Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

इलाका प्रशासन कार्यालय, बुर्तिवाङ बागलुङ

बुर्तिवाङ

नेपाल सरकार
गृह मन्त्रालय

इलाका प्रशासन कार्यालय, बुर्तिवाङ बागलुङ

बुर्तिवाङ

कार्यालयको परिचय र कार्यक्षेत्रः

इलाका प्रशासन कार्यालय नेपाल सरकारको गृह प्रशासन अन्तरगतको प्रशासनिक निकाय हो । स्थानीय प्रशासनलाई विकेन्द्रित प्रशासन व्यवस्था अनुरुप सञ्चालन गर्न तथा शान्ति र व्यवस्थालाई प्रभावकारी रुपमा सञ्चालन गर्न स्थानीय प्रशासन ऐन, २०२८ लागू भै उक्त ऐनको दफा ५ ले जिल्लाको सामान्य प्रशासन सञ्चालन गर्न प्रत्येक जिल्लामा एउटा जिल्ला प्रशासन कार्यालय रहने व्यवस्था गरे अनुसार बागलुङ जिल्लाको शान्ति सुरक्षा, अमनचयन कायम गर्न तथा जिल्लास्थित अन्य कार्यालयहरूसँग समन्वयकारी भूमिका निर्वाह गर्दै विकास तथा सुशासन कायम गर्ने जिम्मेवारीका साथ बागलुङ जिल्लामा पनि जिल्ला प्रशासन कार्यालयको स्थापना भएको हो ।

बागलुङ जिल्लाको सदरमुकाम भौगोलिक हिसाबले केहि पूर्वी भागमा अवस्थित छ । बागलुङको पश्चिमी भाग दुर्गम रहेको तथा यहाँबाट बागलुङको सदरमुकाममा नेपाली नागरिकताको प्रमाणपत्र / नाबालक परिचयपत्र / राहदानी लगायतका कार्यहरूको लागि धेरै समय र स्रोत खर्च हुने हुँदा सेवा प्रवाहमा सहजताको लागि बागलुङको पश्चिमी क्षेत्र, बुर्तिवाङमा तत्कालिन प्रमुख जिल्ला अधिकारी श्री ओम प्रसाद गौतम ज्यूको पालामा मिति २०५४/११/२६ मा इलाका प्रशासन कार्यालय, बुर्तिवाङ बागलुङको स्थापना भएको हो । द्वन्द्वकालमा सुरक्षाका कारण असहज परिस्थिति उत्पन्न भएपछि २०५८ सालबाट यस कार्यालयले बुर्तिवाङमा रहेर सहज रुपमा सेवा प्रवाह गर्न नसके पनि शान्ति पुनर्स्थापना र लोकतन्त्रको पुनःबहाली पश्चात् मिति २०६३/१२/२१ मा पुनः यस कार्यालयबाट सेवा सुचारु गरियो । सुरुमा इलाका प्रशासन कार्यालयको नाममा स्थापना भएपनि यस कार्यालय/अन्तर्गतबाट कृषि सेवा, पशु सेवा, शिक्षा सेवा लगायतका सेवाहरू समेत प्रदान गर्ने गरी २०६९ सालबाट एकिकृत सेवा केन्द्रको नामबाट सेवा प्रदान गर्दै आएको थियो । मिति २०७५/०८/१६ बाट पुनः यस कार्यालयको नाम इलाका प्रशासन कार्यालय, बुर्तिवाङ कायम गरी गरी सेवा प्रवाह हुँदै आएको छ । सुरुमा नेपाली नागरिकताको प्रमाणपत्र मात्र प्रदान गर्ने गरिएकोमा तत्कालिन प्रमुख जिल्ला अधिकारी श्री शेष नारायण पौडेल ज्यूका पालामा अधिकार प्रत्यायोजन भई मिति २०७१/११/१५ बाट राहदानी सेवा समेत यस कार्यालयबाट प्रदान गर्न थालियो । त्यस्तै प्रमुख जिल्ला अधिकारी श्री लुक बहादुर क्षेत्री ज्यूको पालामा मिति २०७६/०१/२२ बाट यस कार्यालयबाट नाबालक परिचयपत्र वितरणको सेवा समेत थालनी गरिएको छ ।

हाल यो कार्यालय ढोरपाटन नगरपालिकाको वडा नं. १, बुर्तिवाङमा अवस्थित छ ।

सेवा प्रवाहका हिसाबले बागलुङ जिल्लास्थित १० वटा स्थानीय तहहरुमध्ये चारवटा स्थानीय तहहरू, ढोरपाटन नगरपालिका, निसिखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिका, यस कार्यालयको क्षेत्राधिकारभित्र पर्दछन् । यी चारवटा स्थानीय तहहरू अन्तर्गतका साविकका निसी, बोवाङ, बोहोरागाउँ, अधिकारीचौर, देविस्थान, राजकुत, दर्लिङ, बुर्तिवाङ, बोंगादोभान, खुंखानी, भिमगिठे, खुंगा, तमान, ग्वालिचौर, रणसिंहकिटेनी, जलजला र दगातुंडाँडा गा.वि.स.हरूले यस कार्यालयबाट निरन्तर सेवा प्राप्त गरिरहेका छन् ।