3 महिना अगाडी
2082-10-02
१) राष्ट्रिय परिचयपत्र भनेको के हो ?
उत्तर : राष्ट्रिय परिचयपत्र भनेको नागरिकहरुको वैयक्तिक (Demographic) तथा जैविक (Biometric) विवरण समाबेश भएको विधुतीय चिप्स र सुरक्षण सहितको स्मार्ट कार्ड प्रविधिमा आधारित राष्ट्रिय पहिचानको बहुउपयोगी प्रमाणपत्र हो ।
२) राष्ट्रिय परिचयपत्र किन आवश्यक छ ?
उत्तर :परिचयपत्र लागु भएपछि नेपाल राज्यबाट प्रदान गरिने कुनैपनि सेवा सुविधा प्राप्त गर्न वा त्यस्तो सवा सुविधाको माग गर्दा परिचयपत्र पेश गर्नुपर्छ । साथै यसलाई सार्वजनिक सेवा प्राप्तिको मुख्य आधार तथा व्यक्तिको पहिचानको प्रमाणको रुपमा मान्यता दिइने भएकोले राष्ट्रिय परिचयपत्र कार्ड आवश्यक छ ।
३) राष्ट्रिय परिचयपत्रका लागि कुन कुन कागजातहरु आवश्यक पर्दछन् ?
उत्तर :
४) राष्ट्रिय परिचयपत्र पाउन कस्तो योग्यता चाहिन्छ ?
उत्तर : १६ बर्ष उमेर पुरा भई नेपाली नागरिकताको प्रमाणपत्र लिएका व्यक्तिले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सक्छन् ।
५) नाबालकले पनि राष्ट्रिय परिचयपत्र प्राप्त गर्छन् ?
उत्तर : हालको पहिलो चरणमा नागरिकताको प्रमाणपत्रको आधारमा मात्र राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । दोश्रो चरणमा नावालक, गैर आवासिय नेपाली (NRN) र निश्चित समय र नेपालमा बसोबास गर्ने विदेशी नागरिकले समेत परिचान सहितको राष्ट्रिय परिचयपत्र पाउनेछन् । दोश्रो चरणको शुरुवात गर्नु अघि सार्वजनिक सूचना पार्फत सम्ब्धित सबैलाई सूचित गरिने छ ।
६) राष्ट्रिय परिचयपत्र कसरी प्राप्त गर्न सकिन्छ ?
उत्तर :नेपाली नागरिकता प्राप्त व्यक्तिले जिल्ला प्रशासन कार्यालय वा राष्ट्रिय परिचयपत्र विवरण दर्ता स्टेसन रहेका ईलाका प्रशासन कार्यालय वा आफ्नो वडामा राष्ट्रिय परिचयपत्र विवतण दर्ता अभियान सञ्चालन भएको बेलामा आफ्नो वडामा गई विवरण दर्ता गराउन सकिन्छ । यसरी विवरण संकलन पछि राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकिन्छ ।
७) अनलाइनबाट फाराम कसरी भर्ने ?
उत्तर : राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेवसाइट https://enrollment.donidcr.gov.np/PreEnrollment मा रहेको राष्ट्रिय परिचयपत्र अनलाईन आवेदनमा गई त्यहाँ दिईएको निर्देशन अनुसार फाराम भर्न सकिन्छ ।
८) राष्ट्रिय परिचयपत्रमा कस्ता कस्ता विवरण राखिन्छ ? यदि कुनै व्यक्तिको हातको एक वा सबै औंला नभएमा, दृष्टिबिहिन भएकाहरुको राष्ट्रिय परिचयपत्रका लागि जैविक विवरण संकलन गरिन्छ कि गरिदैन ?
उत्तर : राष्ट्रिय परिचयपत्र बनाउन जैविक विवरणहरु संकलन गर्दा यदि कसैको हातको केही वा सबै औला नभएमा, दृष्टिबिहिन भएमा कैफियत जनाई जैविक विवरण दर्ता गरिन्छ ।
९) नागरिकतामा जन्म मिति नखुलेमा राष्ट्रिय परिचयपत्रमा कसरी जन्म मिति कायम गरिन्छ ?
उत्तर : राष्ट्रिय परिचयपत्र बनाउदा नागरिकतामा जन्म मिति स्पष्ट नभएमा वा नखुलेमा शैक्षिक प्रमाणपत्र, पेन्सन पट्टा वा राहदानी जारी दर्ताको मिति, वा नागरिकता जारी गर्दाको मितिलाई आधार मानी जन्म मिति कायम गरिन्छ । जस्तै नागरिकतामा उमेर १६ वर्ष र जारी मिति २०२६ असार १८ छ भने राष्ट्रिय परिचयपत्रमा जन्म मिति २०१० असार १८ गते राखिन्छ वा शैक्षिक प्रमाणपत्र, राहदानी, पेन्सन पट्टामा असार १८ भन्दा पछिको मिति रहेछ भने त्यसको आधारमा जन्म मिति कायम गरिन्छ ।
१०) नागरिकतामा पतिको थर नभएको तर राष्ट्रिय परिचयपत्रमा भने पतिको थर राख्न खोजे मिल्छ कि मिल्दैन ?
उत्तर : नागरिकतामा पतिको थर छैन भने राष्ट्रिय परिचयपत्रमा पतिको थर राख्न मिल्दैन । यदि पतिको थर राखेर नै परिचयपत्र बनाउने हो भने पहिला नागरिकता संशोधन गरी पतिको थर राखेपछि मात्र राष्ट्रिय परिचयपत्रमा पतिको थर राख्न सकिन्छ ।
११) कस्मेटिक श्रृङ्गार, टोपी, बुर्का लगाएतका सामाग्री/गहना लगाई फोटो खिच्न मिल्छ कि मिल्दैन ?
उत्तर :राष्ट्रिय परिचयपत्र कार्यविधि २०७८ को दफा १६ (ग) र (घ) अनुसार कस्मेटिक श्रृङ्गार, टोपी, बुर्का, क्यापलगायतका सामाग्री लगाएर राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्न मिल्दैन । किनकी त्यस्ता सामाग्री/गहना लगाई फोटो खिच्दा अन्तराष्ट्रिय मापदण्ड अनुसारको आकार र गुणस्तरको फोटो खिच्न नसकिने र अनुसार/मुखाकृती समेत अस्पष्ट हुनसक्ने भएकाले कुनै पनि कस्मेटिक श्रृङ्गार, टोपी, बुर्का लगाएतका सामाग्री/गहना नलगाई फोटो खिच्नुपर्ने हुन्छ ।
१२) राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्दा हालको स्थायी ठेगाना नागरिकतामा भएको ठेगाना भएमा फरक भएमा के गर्ने ?
उत्तर :नागरिकताको भन्दा फरक स्थायी ठेगाना भएमा त्यो ठेगाना प्रमाणित गर्ने सरकारी कागजात जस्तै : बसाईसराईको प्रमाणपत्र वा बसोबास प्रमाणित कागजका आधारमा ठेगाना कायम गर्न सकिन्छ । तर स्थानीय तहको पुनसंरचना कारण परिवर्तन भएको ठेगानाको हकमा त्यस्तो प्रमाणपत्र वा कागजात नभएपनि नयाँ ठेगाना कायम गर्न सकिन्छ ।
१३) सरकारी सेवा सुविधा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र पेश गर्नै पर्छ ?
उत्तर : नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिएका मिति देखि राष्ट्रिय परिचयपत्र लागु गर्ने
सूचना प्रकाशन गरेपछि राष्ट्रिय परिचयपत्र लागु हुन्छ । राष्ट्रिय परिचयपत्र लागु पश्चात राज्यबाट प्रदान गरिने
कुनैपनि सेवा सुविधा जस्तै : राहदानी लिन, सामाजिक सुरक्षा भत्ता लिन, राहत तथा अनुदान लिन, मतदान गर्न
सम्पत्ति खरिद विक्री गर्न, व्यक्तिगत घटना दर्ता गर्न, बैंकमा खाता खोल्न तथा कारोबार गर्न वा त्यस्तो सेवा सुविधाको माग गर्दा, मोबाइलको सिमकार्ड लिन परिचयपत्र पेश गर्नुपर्नेछ ।
१४) राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा तेस्रो व्यक्तिले उसका बारेमा सबै जानकारी लिई त्यसबाट फाईदा लिन सक्छ ?
उत्तर : राष्ट्रिय परिचयपत्रमा राखिएका सबै जानकारी सबै व्यक्तिले हेर्न सक्दैनन् । राष्ट्रिय परिचयपत्रका लागि संकलन भएका विवरण, तथ्यांक राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गोप्य राखेको हुन्छ । विशेष अबस्थामा बाहेक यस्ता विवरण विभागले अन्य कुनै निकायलाई उपलब्ध गराउदैन ।
१५) राहदानी लिनुपर्दा राष्ट्रिय परिचयपत्र चाहिन्छ ?
उत्तर : राहदानी लिनुपर्दा राष्ट्रिय परिचय नम्बर अनिवार्य गरिएको छ ।
१६) राष्ट्रिय परिचयपत्र नम्बर भनेको के हो ?
उत्तर : प्रत्येक व्यक्तिको पहिचानको लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट प्रदान गरिने १० अंकको नदोहोरिने युनिक नम्बरलाई नै राष्ट्रिय परिचयपत्र नम्बर भनिन्छ ।
१७) राष्ट्रिय परिचयपत्र नम्बर कसरी प्राप्त गर्न सकिन्छ ?
उत्तर : राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता स्टेशनमा गई आफ्नो वैयक्तिक तथा जैविक विवरण दर्ता गराएपछि राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गर्न सकिन्छ । जिल्ला प्रशासन कार्यालय/ईलाका प्रशासन कार्यालयहरुको स्टेशनमा तुरुन्तै र वडा स्तरमा रहेका अभियानहरुको हकमा भने केही समय पछि SMS मार्फत नम्बर प्राप्त गर्न सकिन्छ ।
१८) अस्पष्ट, आफै सच्याईएका कागजात, बिग्रिएको, च्यातिएको, फोटोकपी जस्ता प्रमाणपत्र लिई आएमा विवरण दर्ता गर्न मिल्छ कि मिल्दैन ?
उत्तर : यदि कुनै कागजात अस्पष्ट, आफै सच्याईएको, विग्रिएको, केरमेट गरेको, च्यातिएको वा फोटोकपिका आधारमा राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्न मिल्दैन । आफ्नो विवरण प्रष्ट बुझिने सक्कल कागजातका आधारमा मात्र विवरण संकलन गरिन्छ ।
१९) राष्ट्रिय परिचयपत्र कार्ड छापिएपछि कहाँबाट प्राप्त गर्ने ?
उत्तर : राष्ट्रिय परिचयपत्र कार्ड छपाई भएपछि तपाईको मोवाइलमा छपाई भएको र सङ्कलन गर्न आउने व्यहोरा सहितको SMS प्राप्त हुन्छ । SMS आएपछि परिचयपत्रका लागि विवरण जहाँ दर्ता गराएको हो सोही स्थानबाट कार्ड लिनुपर्छ ।
२०) राष्ट्रिय परिचयपत्र बनेपछि नागरिकताको प्रयोग हुन्छ कि हुदैन ?
उत्तर : नेपाली नागरिकता प्रमाणपत्र तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली दुवै संवैधानिक व्यवस्था भएकोले प्रचलित कानुन अनुसार दुवैको उपयोग हुन्छ । हाल कानुन अनुसार जारी गरिएका पहिचान कार्डहरु सम्बन्धित कानुन अनुसार प्रयोग तथा उपयोग हुन सक्छन् ।
२१) विदेशी केटासँग विवाह गरेकी महिलाले राष्ट्रिय परिचयपत्र लिन मिल्छ ?
उत्तर : विदेशी केटासँग विवाह गरेपनि नेपाली नागरिकता त्याग गरी विदेशी नागरिकता लिएको छैन भने राष्ट्रिय परिचयपत्र लिन सकिन्छ । तर वैवाहिक अवस्थाको वास्तविक पहिचान भने खुलाउनुपर्छ ।
२२) राष्ट्रिय परिचयपत्र कार्ड लिन स्वयम् उपस्थित हुनुपर्छ ?
उत्तर : राष्ट्रिय परिचयपत्र कार्ड वितरण गर्दा सम्बन्धित व्यक्तिको जैविक विवरण प्रमाणित गर्नुपर्ने भएकाले स्वयम उपस्थित हुनैपर्छ ।
२३) राष्ट्रिय परिचयपत्रमा राखिएको विवरण त्रुटी भएमा कसरी सच्याउन सकिन्छ ?
उत्तर : राष्ट्रिय परिचयपत्रमा उल्लेखित विवरण त्रृटि भएमा वा विवरण थपघट गर्नु परेमा सम्बन्धित व्यक्तिले त्यस्तो विवरण सच्याउन वा थपघट गर्न राष्ट्रिय परिचयपत्र बनिसकेपछि तोकिए बमोजिमको ढाँचामा जिल्ला प्रशासन कार्यालय वा ईलाका प्रशासन कार्यालयमा रहेको विवरण दर्ता स्टेशनमा गई निवेदन दिई विवरण सच्याउन सक्नेछ । यसरी विवरण सच्याउन परिचयपत्र नम्बर परिवर्तन हुदैन ।
२४) राष्ट्रिय परिचयपत्र हराएमा, बिग्रिएमा वा नष्ट भएमा अर्को परिचयपत्र लिन सकिन्छ कि सकिदैन ?
उत्तर : राष्ट्रिय परिचयपत्र हराएमा, नासिएमा, विग्रिएमा, काम नलाग्ने भएमा वा कुनै कारणबाट प्रयोगमा आउन नसक्ने भएमा सोको कारण सहित सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा विरण दर्ता स्टेशन रहेका ईलाका प्रशासन कार्यालयमा निवेदन दिएमा अभिलेख रुजु गरी राष्ट्रिय परिचयपत्रको प्रतिलिपि उपलब्ध गराइन्छ ।
२५) राष्ट्रिय परिचयपत्र प्रतिलिपि लिन राजश्व कसरी तिर्ने ?
उत्तर : राष्ट्रिय परिचयपत्र प्रतिलिपि लिन पाँच सय रुपैयाँ राजश्व तिर्नुपर्छ । राजश्व राष्ट्रिय वाणिज्य बैंकका जुनसुकै शाखामा गएर राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, कार्यालय कोड ३१४०१३५०१, राजश्व शिर्षक १४२२९ र खाता नं १०००१००२०००१०००० मा जम्मा गर्न सकिन्छ ।
२६) अहिले फोटो खिच्दाको अनुहार केही समय पछि परिवर्तन हुन सक्छ । यस्तो अबस्थामा व्यक्तिलाई समस्या आउछ कि आउदैन ?
उत्तर : राष्ट्रिय परिचयपत्रमा व्यक्तिको वैयक्तिक तथा जैविक विवरण सहितको विवरण राखिएको हुन्छ साथै नागरिकता नम्बर, जारी गर्ने निकाय, मिति लगायतका विवरण पनि राखिएको हुन्छ । जस कारण फोटोबाट मात्र व्यक्तिको पहिचान गर्नुपर्ने बाध्यता रहदैन । जुम्ल्याहा, तिम्ल्याहाहरुको हकमा पनि हरेक व्यक्तिको औंलाको ल्याप्चे, आँखाको आई रिस फरक हुने भएकोले कसैले झुक्याउन सक्दैनन् ।
२७) झुट्टा विवरण पेश गरी राष्ट्रिय परिचयपत्र लिएमा के हुन्छ ?
उत्तर : यदि कसैले झुट्टा विवरण राखेर राष्ट्रिय परिचयपत्र बनाएको रहेछ भने उक्त व्यक्तिलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ अनुसार दुई बर्ष देखि पाँच वर्षसम्म कैद र बीस हजार देखि पचास हजार रुपैयाँ जरिवाना हुनेछ ।
२८) राष्ट्रिय परिचयपत्र बनाइसकेका व्यक्तिको मृत्यु भएमा के हुन्छ ?
उत्तर : राष्ट्रिय परिचयपत्र प्राप्त गरेका व्यक्तिको मृत्यु भएमा मृतकको परिचयपत्र कायम रहने छैन । परिचयपत्र कायम नरहेको अबस्थामा पनि घटनाको अद्यावधिक गरी तथ्यांक भण्डारण तथा अभिलेखमा रहेको मृतकको विवरण सुरक्षित राखिनेछ ।
२९) कुन अवस्थामा राष्ट्रिय परिचयपत्र रद्द हुन्छ ?
उत्तर : निम्न अबस्थामा राष्ट्रिय परिचयपत्र रद्द हुनेछ :
३०) राष्ट्रिय परिचयपत्र भएको सूचनालाई कसरी सुरक्षित राखिन्छ ?
उत्तर : विभागले संकलन गरेको विवरण गृह मन्त्रालय परिसरभित्र रहेको भिपिएन (भर्चुअल प्राईभेट नेटवर्क) राष्ट्रिय सूचना प्रविधि केन्द्र (जिआईडिसी) मा भण्डारण गरिएको छ । यहाँ भण्डारण गरेर राखिएको तथ्यांक गृह मन्त्रालय परिसर भन्दा बाहिर हर्न, चलाउन सकिदैन । साथै तथ्यांकलाई भण्डारण गर्दा इन्क्रिप्ट (संकेतन) गरी राखिएका कारण विभागका कर्मचारीले बाहेक अरुले हेर्न र बुझ्न सक्दैनन् ।
यो सिस्टम बिदेशिले बनाएको भएपनि यहाँ काम गर्ने सबै कर्मचारी नेपाली नै छन् । कुनै पनि बिदेशिहरुको पहुँच विभागले संकलन गरेको तथ्याँकमा छैन । तथ्याँङकको सुरक्षालाई ध्यानमा राखेर नै विभागले अन्तराष्ट्रिय सूचना तथा तथ्याँक सुरक्षणको मापदणडलाई पालना गरेको छ ।
विभागले संकलन गरेको तथ्याँक अरु सरकारी कार्यालयले पनि प्रयोग गर्न मिल्ने भनिएका कारण कसैले फाइदा पो लिन्छन् कि भन्ने भ्रम हुन सक्छ । तर विभागमा रहेको प्रणालीले मान्यता दिएका आधिकारिक उपकरणहरुबाट मात्र यहाँको सूचना हेर्न सकिन्छ । जसलाई जति सूचना चाहिने हो, उसले त्यति मात्र हेर्न पाउँछन् । सिस्टममा रहेको सूचना कसले कतिपटक हेर्यो, कुन प्रयोजनको लागि हेर्यो, सोको अभिलेखीकरण समेत प्रणालीले राख्ने व्यवस्था छ । कसैमाथि शंका लागेमा त्यसमाथि निगरानी राख्न सकिन्छ ।
© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, बुर्तिवाङ बागलुङ .